श्रावण ३२ २०७६   |  2019 Aug 17    


विद्यालय उमेरका बालबालिका खोज्दै स्थानीय सरकार

news


नयाँ शैक्षिक शत्र शुरु भएसँगै गुल्मीको रुरु गाउँपालिकाले विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहे नरहेको तथ्यांक यकिन गर्न शुरु गरेको छ । गाउँपालिकालाई पूर्ण भर्ना युक्त बनाउनका लागि अभियान शुरु गरिएको गाउँपालिकाको भनाई छ । गाउँपालिकाका अनुसार तथ्यांक यकिन गर्नका लागि जनप्रतिनिधि, गाउँ शिक्षा समितिका सदस्य, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी परिचालन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले बालबालिकालाई आधारभूत तहको शिक्षा सुनिश्चित गर्नका लागि अभियान शुरु गरिएको बताए । उनका अनुसार अभियानमा विद्यालय उमेरका बालबालिका विद्यालयमा भए नभएको यकिन गरि विद्यालय बाहिर रहेको पाईए विवरणात्मक सूची बनाईनेछ । सूची तयार भएपछि ति बालबालिकालाई कुन प्रकारको प्रोत्साहन र सहयोग आवश्यक पर्छ त्यस अनुसार सहयोग गाउँपालिकाले गर्नेछ । मुख्यगरी गाउँपालिकाले पोशाक, स्टेशनरी, पाठ्यपुस्तकका लागि सहयोग गर्ने नीति ल्याएको छ । अति गरिब र अति बिपन्न भेटिए गाउँपालिकाबाट विद्यालय जानसक्नेगरी सहयोग गछौं अध्यक्ष गौतमले भने, हामी विद्यालय उमेरका बालबालिकालाई विद्यालय पुर्याएरै छाड्छौं ।
विद्यालय सेवा क्षेत्रमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षकहरु, विद्यार्थीहरु परिचालन गरी विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर भए नभएको विद्यालयले सुनिश्चित गर्नेछन् । त्यसैगरी वडा कार्यालयले जनप्रतिनिधिहरु परिचालन यकिन गर्ने र गाउँपालिकामा बैशाख ७ गतेभित्र पठाउनेछ । त्यसपछि विद्यालय बाहिर बालबालिका भेटिए उपयुक्त परामर्श, प्रोत्साहन र सहयोग गरी बैशाख १४ गतेभित्र विद्यालयमा प्रवेश गराउने गाउँपालिकाको कार्यक्रम छ ।
गाउँपालिकाले अग्रेजी माध्यमको पाठ्यपुस्तकका लागि पाँच लाख बजेट बिनियोजन गरेको छ । उक्त रकम बालबालिकालाई विद्यालयसम्म ल्याउनका लागि समेत प्रयोग गर्न सकिने गाउँपालिकाका प्रवक्ता शेषनारायण पौडेलले जानकारी दिए । विद्यालयसम्म बालबालिकालाई ल्याउनका लागि मुख्यगरी तीन क्रियाकलापलाई जोड दिने उनले बताए । पौडेलका अनुसार आर्थिक विपन्नता र पाठ्यपुस्तक स्टेशनरीको समस्या भएको अवस्थालाई सम्बोधन गर्ने, अभिभावक नभएका बालबालिका भए अभिभावकत्व लिने र शिक्षाको चेतना नभएका अभिभावकलाई परामर्श दिइनेछ । गाउँपालिकामा केही अपाङ्गता भएका र बिशेष क्षमता भएका बालबालिका रहेको र उनिहरुको बिषयमा के गर्न सकिने हो तथ्यांक संकलनपछि योजना बनाईे पौडेलको भनाई छ ।
रुरु गाउँपालिकामा विद्यालय तह कक्षा १–१० मा पाँच प्रतिशत बालबालिकाले बीचमै विद्यालय छाड्नेको गरेको तथ्यांक छ । मुख्यगरी दलित, जनजाती समुदायका बालबालिकाहरुले बीचमै कक्षा छाड्ने गर्दछन् । यो समस्या भएको र संख्या अत्यन्त न्यून रहेको गाउँपालिकाले जनाएको छ ।
विद्यालय उमेरका बालबालिकालाई विद्यालयभित्र ल्याउनका लागि दुई चरणमा बैठक भई काम अगाडी बढेको गाउँपालिकाका शिक्षा प्रमुख बामदेव ज्ञवालीले जानकारी दिए । उनका अनुसार गाउँ शिक्षा समितिले उक्त बिषयमा छलफल गरी काम अगाडी बढाउनका लागि निर्णय गरेको छ भने पालिकाभित्रका प्रधानाध्यापकहरुको बैठकमा उक्त बिषय एजेण्डाको रुपमा छलफल भएको थियो ।
रुरु गाउँपालिकाका सामुदायिक ४३ र संस्थागत तीन गरी ४६ वटा विद्यालय रहेका छन् । जहाँ गत शैक्षिक शत्रको विद्यार्थी संख्या बालविकास केन्द्रदेखि कक्षा १० सम्म ४ हजार ८ सय ६२ छ । नेपाल सरकारले भर्ना अभियानको नारा ‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याउ’ँ तय गरेको छ । रुरु गाउँपालिकाको नेपालको शिक्षाको इतिहासमा गर्विलो इतिहास छ । गाउँपालिकाको रिडिमा बि.स. १९६९ मा संस्कृत भाषा पाठशालाको नाममा स्थापना भएको थियो । उक्त पाठशाला २०१५ मा सस्कृत प्रधान पाठशालामा नामाकरण भई नयाँ शिक्षा लागु भएपछि संस्कृत माध्यमिक विद्यालय र २०६५ संस्कृत तथा साधारण विद्यालयको रुपमा संचालनमा रहेको नेपालको शैक्षिक इतिहासमा भेटिन्छ ।

अपडेट : 2019-04-18 08:04:40




your-image

Leave a Comment