आषाढ २ २०७६   |  2019 Jun 17    


प्रादेशिक मेडिकल कलेजको कार्यालय तिलोत्तमामा खुल्यो

news


प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चौतर्फीरुपमा विकासमा समर्पित रहेको बताएका छन् । सरकारको एकमात्र लक्ष्य र उद्देश्य विकास मात्रै भएकाले विकासविरोधीहरुका कुरा नसुनी सरकार आफ्नो मिसनमा हिंडिरहेको उनले बताए ।
रुपन्देहीको तिलोत्तमामा बन्न लागेको प्रदेश पाँचस्तरीय मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । “अहिले दशैभर ठूला–ठूला विकासका आयोजना बनिरहेका छन्, रुपन्देहीमा पनि प्रदेशस्तरीय मेडिकल कलेज र राष्ट्रिय गौरवको बुटवल–नारायणगढ छ लेन सडक शुभारम्भ भएको छ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम अवस्थामा पुगेको छ”–प्रधानमन्त्रीले भने–“तर औंलामा गन्न सकिने केही बुद्धिजीवी भनिनेहरुलाई यो विकास मन नपरेर विरोध गरिरहेका छन् ।”
सरकारले सुरु गरेको विकासको महाअभियानले समृद्ध नेपाल र सुखी नेपाली बनाएरै छाड्ने अठोट व्यक्त गर्दै प्रधानमन्त्रीले जनताले अव क्रन्दन र पीडामा होइन, सुखी नेपाली भएर बाँच्ने दिन आउने बताए ।
“फलाम, तामा र पेट्रोलियम खानी मुलुकमा रहेको छ, यसको उपयोग गरेर पनि मुलुकलाई प्रगतीको बाटोमा लैजान सकिन्छ, यसको प्रक्रिया पनि थालिएको छ”–प्रधानन्त्रीले भने । सधैभरी नेपाल मगन्ते भएर बस्न नसक्ने भन्दै उनले गौरवपूर्ण पुर्खाले निर्माण गरेको देशलाई आत्मनिर्भर बनाएरै छाड्ने बताए ।
उनले नेकपा विप्लव समूहका हिंसात्मक गतिविधिमा प्रतिवन्ध लगाउँदा केहीलाई चित्त नबुझेको बताए । “केही बुद्धिजीवीले यसैलाई सटर बनाएका छन्, हिंसात्मक गतविधि नियन्त्रण गर्दा उनीहरुलाई आफ्नो सटर बन्द हुने भयो भन्ने डर छ, त्यसैले उनीहरु विरोध गरिरहेका छन्”–प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री ओलीले मुलुकले अव हिंसात्मक गतिविधि सहन नसक्ने पनि बताए । उनले केही बुद्धिजीवीसँगै केही सञ्चारमाध्यमहरुपनि सरकारले गरेका कामको विरोधमा उत्रिने गरेको बताए । “उनीहरुको काम विरोध मात्रै गर्ने हो, विरोध नगर्ने हो भने आफूले थापेको सटर बन्द हुन्छ”–उनले भने ।
उनले रुपन्देहीमा बन्न लागेको प्रदेशस्तरीय मेडिकल कलेज समयमै बन्ने विश्वास व्यक्त गर्दै अव मुलुकले राम्रो अस्पताल, राम्रा डाक्टर, साधनस्रोत सम्पन्न अस्पताल, सक्षम, अनुभवी र दक्ष प्राध्यापकहरु चाहेको बताए ।
कार्यक्रममा बोल्दै पुर्वअर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले यहाँ बन्ने मेडिकल कलेज मेडिकल युनभर्सिटीका रुपमा विकास हुनै भन्दै यही सरकारको पालामै मेडकल कलेजको निर्माण सम्पन्न हुने र उदघाटन पनि वर्तमान प्रधानमन्त्री केपि ओलीले नै गर्ने विश्वास व्यक्त गरे ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मेडिकल कलेज निर्माणका लागि नगर सरकारले समन्वयकारी भूमिका खेल्ने बताए ।
तिलोत्तमाको शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको करिव दुई सय बिगाहा क्षेत्रफलमा सरकारले मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको हो । केही दिन अघि बसेको मन्त्रिपरिषदको बैठकले तिलोत्तमा सहित महोत्तरीको बर्दिवास र सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापना गर्न नौ जना कर्मचारीको दरबन्दी कायम गर्ने र अहिलेलाई १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको थियो ।
नेपाल सरकारले आर्थिक वर्ष २०७३÷७४ को बजेटमा रुपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न बजेट समेत बिनियोजन गरेको थियो । त्यति बेला हालका प्रतिनिधि सभा सदस्य तथा नेकपा महासचिव बिष्णु पौडेल अर्थमन्त्री थिए ।
त्यस लगत्तै कलेज निर्माणका लागि वरिष्ठ चिकित्सक प्राध्यापक डा. सरोज प्रसाद ओझा संयोजक रहेको प्रारम्भिक समिति गठन गरिएको थियो । २०७३ असार २७ गते गठित समितिले तिलोत्तमा नगरपालिकाको प्रस्तावित क्षेत्र उपयुक्त हुने प्रस्ताव गर्दै प्रतिवेदन बुझाएपछि सोही वर्ष साउन १२ गतेको मन्त्रिपरिषदको बैठकले शंकरनगर र करहिया सामुदायिक वनले चर्चेको मध्ये दुईसय बिघा जमिन उपयोग गर्न स्विकृती दिने निर्णय गरेको थियो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँ मिलदेखि पाँचसय मिटर पूर्व प्यारामाउन्ट टोलमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको हो ।
मासिक ३५ हजार भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी छ । आयोजना कार्यालय स्थापना भएपनि तत्काल फिल्डमा काम भने हुनेछैन । धेरैजसो कामहरु कानुनी प्रकृयामा भएकाले शुरुमा केन्द्रबाटै काम हुने उपसचिव मानबहादुर घिमिरेले बताए ।

अपडेट : 2019-03-23 07:11:19




your-image

Leave a Comment