आषाढ २ २०७६   |  2019 Jun 17    


भत्तामा लोभीदा टिप्पर दुर्घटना बढी !

news


गत आईतबार निस्दी गाउँपालिका ७ मोटखर्क स्थित रामपुर अरुणखोला भित्रि कच्ची सडक खण्डमा दुर्घटना भयो । ज्यामिरेको भुटुके स्थित चुन ढुंगा खानीबाट लोड लिएर जादै गरेको रा १ ख १५११ नम्वरको टिपरको ठक्करबाट नौ वर्षिय वालिका ममिता सारुको ज्यान गयो ।
केही महिना अघि तानसेनबाट छहरा जाँदै गरेको लु १७प ८७५९ नम्बरको मोटरसाइकललाई लु२ख २४४० नम्बरको टिपरले ठक्कर दिँदा ५ वर्षीया बालिका अनुसिका दर्लामीको ज्यान गयो । तिनाउ ३ दोभानमा पनि मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एकको ज्यान गएको थियो ।
यी त केही घटनाका उदाहरण मात्र हुन् । पछिल्लो समयमा जिल्लाका सडकहरुमा टिपर आतंक घट्नुको सट्टा बढ्दै गएको स्थानीयको भनाई छ । पटक पटकको खबरदारी पछि पनि सडकमा टिपरले दुर्घटना घटाएपछि स्थानीयले गुनासो गरेका छन् ।
कम्पनी र उद्योगले टिपर चालकलाई प्रति ट्रिपको हिसाबमा भत्ता उपलब्ध गराउने गर्छन् । त्यसको असर टिप्परको गतिमा परेको छ । जति धेरै ट्रिप बोक्यो, उति धेरै भत्ता पाइने भएपछि चालकले टिप्पर सडकमा कुदाउँने गरेको कम्पनी र उद्योग सम्बन्धित व्यक्तिहरु नै बताउँछन् । यसको असर सडक दुर्घटना पर्ने गरेको उनिहरुको भनाई छ ।
आर्थिक वर्ष २०७४÷०७५ मा टिप्पर दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका थिए । त्यस्तै चालु आर्थिक वर्षको फागुन ५ गते सम्म २ जनाको मृत्यु र १० जना घाइते भएको जिल्ला ट्राफीक कार्यालय पाल्पाले जनाएको छ । यो २१ महिनाको समय अवधिमा मात्रा ७ जनाको ज्यान गइसकेको छ, भने १५ जना घाईते भएका छन् । जिल्लामा साँघुरा र जीर्ण सडक भएका कारण तीब्र गतिमा हुइँकिने टिपरबाट बढी दुर्घटना हुने गरेको प्रहरीको भनाई छ । विशेष गरी सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल– पाल्पा सडक खण्डमा टिपर आतंक बढेको पाइन्छ । सडकमा यात्रा गर्ने जोसुकै पनि टिपरको यस किसिमको आतंकबाट अपरिचित छैनन् । राजमार्गमा गुड्ने साना सवारी साधन, सडक छेउका बासिन्दामा टिपर देख्नासाथ डराउँने बानि नै बसिसकेको छ ।
टिपरका कारण दुर्घटना बढ्दै गए पछि जिल्ला प्रहरी कार्याल, ट्राफिक कार्यालयले हार्थोक देखि सिद्धबाबा सडक सम्म टाइम कार्डको व्यवस्था गरेको छ । केही हद सम्म यो प्रभावकारी देखिए पनि सफल हुन सकेको छैन । विगतमा जेजस्ता घटना भए पनि टाइम कार्डको व्यवस्था गरे पछि भने दुर्घटनामा केही कमी आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताए । उनले ग्रामीण क्षेत्रमा सञ्चालित टिपर चालकलाई ट्राफिक सचेना दिनुको साथै स्थानीयमा पनि बाटो क्रसका सम्बन्धमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिए ।
टिपर चालकले ट्राफिक नियम पालना नगर्ने, लेन अनुशासन नमान्ने तथा बढी ट्रिपका लागि होडबाजीमा मानिसको ज्यानको ख्याल नगरी सवारी हाँक्ने गरेका छन् । जसका कारण सडकमा सञ्चालित सवारी साधन सँगै यात्रुहरु मृत्युको शिकार बन्नु परेको हो । यसअघि तानसेनमा टिप्पर आंतक ब्यापक भएपछि बैकल्पिक बाटोबाट टिपर लगायत सवारी चलाउने निर्णय भए पनि त्यो कार्यान्वयनमा भने आउन सकेको छैन । जिल्लाको दोभान आसपास र अर्घाखाँचीको नरपानी चुनढुंगा उत्खनन क्षेत्रबाट ठूला निर्माण आयोजना र सिमेन्ट उद्योगका लागि आवश्यक खानीजन्य सामग्री ढुवानी गरिन्छ । ढुवानी गर्ने टिपरको संख्या पछिल्ला तीन वर्षमा ह्वात्तै बढेको छ ।

अपडेट : 2019-02-24 08:56:44




your-image

Leave a Comment